Saturday, December 12, 2009

बागबजार: एक पोट्रेट

बाटो छेउमा
राती फ्याँकेको वासी फोहोरको दुर्गन्धसँगै
बागबजारले बिहानीको आँखा खोल्छ ।

रातको नशा अझै बाँकी छ?
नाक छोप्दै कुनै स्लम बस्तीमा हिँडेका ‘मर्निङ वाकरहरू’
फोहोरको डङ्गुरमा
आफूले राती फ्याँकेको मोबाइलको चार्जर खोज्दैछन् ।

कलेज जाने उत्ताउला ठिटीहरुलाई
चुरोटको सर्को तान्दै जब जिस्काउँछन् उन्मत्त ठिटाहरू
हाँसोको फोहोराले कुनै ‘कमेडी फिल्मको ‘सिक्वेन्स’ तयार गर्दै हुन्छ ।

फोहोरमा जिन्दगी खोज्दै बालकहरू
‘डेन्ड्राइट’को नशामा जब बाटो काट्छन्
सुरक्षाको ‌डण्डाले बिथोलिएका प्रदर्शनकारीजस्तै
चिल्ला गाडीका हरनले तितरबितर तिनीहरूको भीड
कुनै गाडीमा कुँदिएको छ- बाल सरोकार केन्द्र

सटरहरू खुल्छन्- चिया पसलमा भीड
अखबारमा छापिएको हिमानीको प्याराग्लाइडिङ्ग को दृष्यमा
शुरु हुन्छ पारसका कर्तुतहरूको बेलिबिस्तार
एन्जेलिना र ब्राड पीटको गफमा मस्त प्लस टु जेनेरेसन’
सन्तानको बारेमा चिन्तित अभिभावक
तरकारी किनेर फकर्दै गरेकी गृहणी
कोही इराकमा मारिएका नेपालीहरूको बारेमा
कोही हिजो हेरेको सिनेमाको प्रसङ्ग जोड्छन् ।

पुरानो कोटमा सजिएको एउटा कवि बाटो काट्छ
एउटा कविता पुर्याउनु छ, पत्रिकाको लागि
स्कुल जाने विधार्थीहरूको हूलबाट
कन्डक्टरको एकोहोरो चिच्याइमा अफिस जानेहरू
बस भित्रको ठेलमठेलमा आफ्ना गन्तव्य खोज्दैछन् ।


डान्स सिक्नेहरूको कजरारेसँगै
सरगमका आलापमा
नयाँ फिल्मको स्क्रिप्ट खोज्दै निर्देशक
नायक-नायिकाको बलिउड गफ र सपना साँच्दै
अडिसनको लागि हतारिदै गरेको एक हुल ।

नयाँ किताबको प्रुफरिडिङ्ग बाँकी छ,
प्रेसमा पठाउन हतार भइसक्यो
पाण्डुलिपी च्यापेर प्रकाशन गृहमा छिर्छ लेखक
दुइवटा भरियाहरू स्याँस्याँ गर्दै उक्लदैछन्
एउटा भवनको माथिल्लो तल्लामा दुइओटा अल्मारी बोकेर
रातीको घरचुवाले स्टामिना कमजोर बनाइदिएछ

गाडीको हरन, मान्छेको चाप
कोही काममा, कोही अनावश्यक
हल्ला र हाँसो, रोदन र आक्रोस
यसरी नै चल्दैछ बागबजारको दिनचर्या ।

विदेश जाने रंगीन सपनाका साथ
आइएलटिस टीओइएफएल कुँदिएको बोर्डमा हान्निएका युवाहरू
कोही ट्युसन, कोही कम्प्युटर क्लासको हाताभित्र हतारिँदै छन्

नारा जुलुस, बन्द हड्तालको मुहान
विधार्थी नेताहरुको तात्तातो भाषण
पुलिसले डाडमा सेकेको लाठीसँगै
तितरबितर भएर गल्लीमा पसेको भीड
एम्बुलेन्सको साइरनले कोलाहल चिर्दै
पल्सरको टायरमुनि आएका एक वृद्धालाई ओसारेको बेला
कलेज युनिफर्ममा ठाँटिएका ठिटीहरु
व्वाइफ्रेन्डसंग भोलीको प्रोग्रामका बारेमा
छलफल गर्दै घर फर्कदैछन् ।

छेउमा बज्न थालेको गानाको आवाजले
साँझ ढल्कन लागेको संकेत दिन्छ
क्रमशः दिनभरिको थकाई मेट्न तिनै सामान्य मान्छेहरु
कोही घर, कोही भट्टीतिर लाग्दा
तिनै चुपचाप आँखाहरू अब असामान्य बनिदिन्छन् ।

डान्सबारमा लागेको गाडीको लामसँगै ठिटीहरुको नृत्यले
रातको मदहोसतामा रौनक थप्दैछ
पुलिसको गाडी बाहिर पार्किङ्ग गरिएको छ
कुनै भिआइपीको प्रतिक्षामा बसेजस्तै ।

पैसा र रक्सीको नशामा लठ्ठ तिनै सामान्य मान्छे
बाध्यताको शिकार बनाएर कति चेलीहरूको
अस्मिता लुट्न असामान्य बन्न थाल्छन् ।

रातको मध्य प्रहर पछि
क्रमशः बागबजार सुत्छ, उस्तै दिनको पर्खाइमा
केही नयाँपनको आशमा, फेरि हिँडिइरहन्छन्
उही पाइलाहरु

5 comments:

Subhasana said...

oho nepali ma pani suru bhayo aba... i didn't know that you write in Nepali as well... impressed...

Robin said...

धेरै राम्रो विचार... मन पर्यो मलाई... Keep it up... this is a bitter reality about bagbazar and all other bazaars...

सुदर्शन said...

बिचारको खेतीमा तिम्रो प्रयास सराहनीय छ... तिम्रो रचना हेरेर धेरै वर्ष अगाडि पढेको एउटा कविता याद आयो-
"साँघुरो गल्लीमा मेरो चोक छ, त्यहाँ के छैन सबथोक छ
रोग छ, भोक छ, शोक छ
साँघुरो गल्लीमा मेरो चोक छ, त्यहाँ के छैन सबथोक छ..."

Anonymous said...

Good One!
Navin Parajuli

milan said...

brother bawal cha bahut khusi lagyo dai you are man of versatile character keep it up

Post a Comment