(२०६७ पुस २३ गते शुक्रबार नेपाली पत्रमा र २०६७ पुस २६ गते सोमबार जनप्रकाश साप्ताहिकमा प्रकाशित)
सानैदेखि नेपाली र अङ्ग्रेजी साहित्यमा कलम चलाउँदै आउनु भएको साहित्यकार जयन्त शर्मा पछिल्लो समयमा नेपाली साहित्यको अङ्ग्रेजी अनुवादकको रूपमा देखापर्नु भयो । ह्रदयचन्द्रसिंह प्रधानको ‘किर्तिपुरको युद्धमा’को अङ्ग्रेजी रुपान्तरण In the Battle of Kirtipur बाट चर्चामा आउनुभएका उहाँले ‘समयको रङ्ग (Colours of Epoch)’, Children Stories from Nepal, Odes from the Himalayas, जस्ता दर्जनौं पुस्तकहरूको अनुवादका साथै The Kathmandu Post, The Rising Nepal जस्ता पत्रपत्रिकाहरूमा साहित्य र अनुवाद सम्बन्धी लेखहरू पनि लेख्दै आउनुभएको छ ।
उनै साहित्यकार जयन्त शर्मासँग विशेष अनुवाद साहित्यको विषयमा गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।
अनुवादको औचित्य कसरी प्रष्ट पार्नु हुन्छ ?
- हेर्नुस्, यसको औचित्य प्रष्ट्याउनु भनेका एउटा सिङ्गो पुस्तक तयार गर्दा पनि सम्भव नहुने प्रश्न हो यो । संक्षेपमा भन्नु पर्दा अहिलेको विश्वको जतिपनि ज्ञान विज्ञान, दर्शन, साहित्यका कुरा छन्, त्यो अनुवादकै माध्यमले सम्भव भएको हो ।
यस कुराको पुष्टी कसरी गर्नुहुन्छ ?
- हाम्रो समाजकै कुरा गर्ने हो भने या धर्म संस्कृति र परम्पराकै कुरा गर्ने हो भने, आदिम कबिला युगमा मानिसहरू आ–आफ्नो भाषा र परम्परागत समूहमा बस्दथे । तिनीहरूको आफ्नै खाले श्रृति, परम्परा र प्रचलनहरू रहेको थियो र ती कुराहरू उनीहरू आ–आफ्नै पाराले व्यक्त गर्ने गर्दथे । ती कथ्यहरू उनीहरूको भाषाका साथसाथै संस्कृत भाषाका पारखी भनु वा ऋषिमुनी, अनुसन्धानकर्ताहरूले संस्कृत भाषामा लिपिबद्ध गरे – राम संस्कृत भाषी होइनन्, न त कृष्ण नै हुन् । तर तिनीहरूको जीवन चरित्र संस्कृत भाषामा अनुवाद भएर आयो । परिणामतः हिन्दू संस्कृति मान्ने समुदायहरूले पछि गएर आ–आफ्नो भाषामा कालान्तरमा गएर फेरि अनुवाद गरे । यो हाम्रो मात्र नभएर सम्पूर्ण जनसमुदायको एउटा संस्कृति बन्न गयो । संस्कृतभाषाबाट उत्पन्न भएको नेपाली, हिन्दी, बङ्गाली, मराठी, मैथली, भोजपुरी जस्ता तथा दक्षिण भारतिय भाषा तामिल, तेलगु, मलायम, इत्यादि मात्र नभएर अङ्ग्रेजी, जर्मन, स्पेनीजस्ता अन्य युरोपेली भाषाहरूमा समेत अनुवाद भयो ।
तपाईंलाई जानकारी नै होला हिन्दू धर्ममा नै आस्तिक र नास्तिक दर्शनको सर्वप्रथम सुत्रपात भयो र विश्वमा चलिरहेको पदार्थ कि चेतना भन्ने विवाद र आफ्नो पक्षको पक्षपोषण गर्ने वेद दर्शन र चार्वाक दर्शन (सर्वदर्शन) का विचारधारात्मक द्वन्द्व यही बेलादेखि सुरुभयो र अहिले विश्वभरि यसका विविध हाँगा हाँगाको चर्चा परिचर्चा भयो, त्यसको प्रमाण देह र विदेह जस्ता धर्म दर्शन पनि यसै अनुवादको माध्यमबाट संसारभर फैलियो । त्यसैले यो छोटो रूपमा भन्न खोजिएको सार मात्र हो । हामीले चिन्ने गरेको दार्शनीक, वैज्ञानिक र साहित्य सर्जक कति नेपाली थिए ? उहाँहरूलाई हामीले चिन्न सकेको एक मात्र कारण अनुवाद नै हैन र ?
नेपाली साहित्यको अनुवाद अङ्ग्रेजीमा गरिरहनु भएको छ, यसको खास कारण के होला ?
- हामी विश्वमा रहेका विभिन्न भाषाका पुस्तकहरूको अध्ययन गरिरहेका छौँ । हामीले नदेखेको मुलुक, नचिनेको मान्छे, नभिजेको परिवेश – तर ज्ञानका लागि ती सामग्रीहरू उपयोगी छन्, त्यस्तै हाम्रो भाषाका कति लेखक सर्जकहरूको पहुच यो विश्वभरी पुगेको छ ? संसारको बहुसंख्यक भाषाभाषीहरूलाई नेपाली भाषा – नेपाली संस्कृति, नेपाली कला–साहित्य पनि अन्य भाषाको तुलनामा त्यतिकै स्तरिय र गुणयुक्त छन् भन्ने कुराको साधारण जानकारी समेत छैन – किन ? उनीहरूले हाम्रो भाषा बुझ्दैनन्, हाम्रो साहित्य उनीहरूले बुझ्ने भाषामा कति छ ? यही शून्यतालाई चिर्ने सानो प्रयास हो – मेरो अनुवादकर्म पनि ।
नेपाली साहित्यको अनुवादको स्थिति कस्तो पाउनु भएको छ ?
- उत्साहजनक पक्कै छैन, नेपाली साहित्यका थुप्रै पुस्तकहरू स्तरियताको दृष्टिकोणले विश्वसाहित्यको अन्य उन्नत साहित्यको दाजोमा पुग्न सक्ने संभावना बोकेका छन्, तर त्यसको बारेमा विश्वका अन्य भाषाका पारखीहरूले थाहा पाउन सकेका छैनन् । छिटफूट मात्रामा काम भइरहेको छ, संगठीत प्रयास भने हुन सकेको छैन । त्यसकारण पनि परिणाम सन्तोषजनक हुन सकिरहेको छैन ।
त्यो समस्याको समाधान के हुन सक्छ ?
- सर्वप्रथम नेपालको राजनीति, र सरकारी नीति स्पष्ट हुन आवश्यक छ । लियो टोल्सटोय, मेक्सिम गोर्की रसियनभाषी, ल्यू शून चिनियाँ, बर्तोल्ड ब्रेख्त जर्मन – तर त्यहाँको स्पष्ट सरकारी नीतीले उनीहरूको प्रतिभा संसारसामु छर्लङ्ग हुन सक्यो । हो, हाम्रोमा त्यही नीति छैन । भाषा र संस्कृतिको जिम्मा लिने एकेडेमी राजनीतिक भर्ती केन्द्रको रूपमा रह्यो । एकेडेमीसियन हुन प्रतिभाको भन्दा राजनीतिको झण्डा ओढेकाहरू प्रतिभावान ठहरिए – सिमित बजेट यताउता टालटुल नीतिमै रित्यायो, मुख्यकाम निरूद्देश्य नै रह्यो । संस्कृति मन्त्रीले संस्कृति नबुझ्दा पनि भयो, विश्व प्रसारणको कुरा त टाढाको फलजस्तै भयो । खैँ नेपालमा पुस्तक प्रकाशन र वितरणको व्यवस्था नै राम्रोसँग गर्न नसकेको स्थितिमा हाम्रो साहित्य अनुवाद भएर विश्वभरि वितरणको व्यवस्था मिलाउन भनेको हाललाई दिवास्वप्न जस्तो लाग्न सक्छ तर त्यो हुनुपर्छ । भविश्यमा यस्ता काम हुन नसके हाम्रो लेखनीय कुवाको भ्यागुताको भन्दा भिन्न स्थितिमा रहँदैन ।
नेपाली साहित्यको अनुवादको प्रणेता कसलाई मान्नु हुन्छ ?
- निसन्देह महाकवि लक्ष्मीप्रसाद देवकोटा, त्यो समयमा पनि उहाँको अनुवाद शिल्प यति उच्च, सूक्षम् र गहन थियो की वर्तमान समयमा पनि त्यस्तो प्रतिभा नेपाली साहित्यमा अर्को देखा परेको छैन ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको नै अमर कृति “मुनामदन” को अनुवादलाई कसरी लिनुभएको छ ?
- त्यसो त मैले त्यो कृतिको तीनवटा अनुवाद पढिसकेको छु, माइकल हट, आनन्द पी श्रेष्ठ र गणेशलाल सुब्बाका अनुवादहरू । यी तिनवटै अनुवादलाई सरसर्ती हेर्दा पनि के देखिन्छ भने माइकल हटले नेपाली लय बुझ्न सकेको छैन, शब्द र वाक्यहरू अनुवाद भएको छ तर त्यसको गेयता र कलात्मकतालाई छुट्याएर – त्यसकारण त्यो कस्तो कृति भयो आफै अनुमान गर्नुस् । त्यो भन्दा धेरै राम्रोसँग छन्द र गेयतालाई समातेर आनन्द पी. श्रेष्ठले गर्नुभएको छ र त्यो आफैमा सुन्दर भएको छ । र भन्नै पर्दा, स्तरियताको हिसाबले गणेशलाल सुब्बालाई कसैले भेटाउन सकेको छैन ।
अहिले तपाईं केगर्दै हुनुहुन्छ ?
- यू.के. डायस्पोरामा रहेका नेपाली कविहरूको कवितासङ्ग्रह ‘सिमाहीन विम्ब’ कवितासङ्ग्रह भर्खरै सकेर विजय चालिसे र तेजप्रकाश श्रेष्ठका कथासङ्ग्रहको अनुवाद गरिरहेको छु ।
‘साथी’ साहित्यिक पत्रिकाको अङ्ग्रेजी संस्करणका सम्पादकको रूपमा प्रकाशन गर्दै आउनु भएको थियो तर अहिले बन्द अवस्थामा छ, किन होला ?
- बन्द गरेको होइन, वाध्यतावश केही समयको लागि यो बन्द गर्नु पर्ने भयो । धेरै योजनाहरू बुन्दाबुन्दै आकस्मीक दुर्घटनाले गर्दा लामो समय म स्वास्थ्य उपचारको क्रममा नै रहे । र, अहिले पनि म स्वास्थलाभ गर्दैछु । तर अब म फेरि काम गर्न सक्ने अवस्थामा आइसकेकोले यसलाई फेरि निरन्तरता दिने प्रयासमा रचना छनौट, अनुवाद र प्रकाशन गर्ने तर्फ काम गरिरहेको छु । अब चाडै नै यो पुनः प्रकाशन हुने तरखरमा रहेको छ ।
अन्तमा केही भन्न चाहनु हुन्छ कि ?
- नेपाली साहित्यलाई विश्वमा चिनाउन अनुवाद बाहेक अन्य कुनै विकल्प छैन, त्यसैले साहित्यकारहरू, प्रकाशकहरू, अनुवादकहरू र पाठकहरूलाई पनि यो अनुरोध गर्दछु कि यो अनुवाद कार्यलाई गम्भीरताका साथ लिइदिनु पर्यो ।